बीरगन्ज,१० चैत । पर्साको पोखरिया नगरपालिकामा रहेको प्रादेशिक अस्पतालको सेवा अवस्था दिनप्रतिदिन जर्जर बन्दै गएको छ। अस्पतालमा केही समयअघि दैनिक करिब २५० जना बिरामी उपचार गराउँदै आएका थिए, तर हाल सेवा कटौतीका कारण बिरामी संख्या करिब १०० मा सीमित भएको छ।
अस्पतालको एक्स–रे सेवा विगत दुई महिनादेखि पूर्ण रूपमा बन्द छ। ठेकेदार कम्पनीले भुक्तानी नपाएको भन्दै मेशिनका आवश्यक पार्टहरू हटाएको बताएको छ। कम्पनीका अनुसार करिब साढे चार लाख रुपैयाँ भुक्तानी बाँकी छ।
यसैगरी, इसिजी सेवा बन्द छ र प्रयोगशालामा थाइराइड परीक्षण समेत रोकिएको छ।
अस्पतालमा औषधि अभाव गम्भीर बनेको छ। चिकित्सकले बीमा अन्तर्गत लेखेका औषधिहरू समेत बिरामीले पाउन छाडेका छन्। जीवनजल, सिटामोल, पट्टी–कपास जस्ता आधारभूत सामग्रीसमेत उपलब्ध छैनन्। निशुल्क उपलब्ध गराइने ९८ प्रकारका औषधिमध्ये केही मात्र बाँकी रहेको अस्पताल स्रोतले बताएको छ।
सेवा घटेसँगै बिरामीहरू वैकल्पिक रूपमा निजी स्वास्थ्य संस्थामा जान बाध्य छन्, जसले उनीहरूमा आर्थिक भार थपेको छ। कर्मचारी र सेवाग्राही दुवै असन्तुष्ट रहेको जानकारी छ।
अस्पताल व्यवस्थापन र पोखरिया नगरपालिकाले भुक्तानी प्रक्रिया टुंग्याएर आवश्यक उपकरण र औषधि आपूर्ति सुनिश्चित नगरे स्वास्थ्य सेवा अझ संकटमा पर्ने चेतावनी पेश गरिएको छ।
स्थानीयवासीहरूले अस्पतालको सेवा सुधार गर्न तत्काल पहल गर्नुपर्ने माग गरेका छन्।




