काठमाडौँ,११ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकलगत्तै संसदीय दलको बैठक बोलाउने भएको छ। दलको नेता चयन र अन्य एजेण्डामा छलफल गर्न बिहीबार दिउँसो ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक तय गरिएको छ।
पार्टीभित्र यसपटक संसदीय दलको नेताका रूपमा बालेन्द्र शाहलाई चयन गर्ने तयारी भइरहेको छ। यसअघि रवि लामिछाने र बालेनबीच भएको ७ बुँदे सहमतिमा उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो।
रास्वपाका नेताहरूका अनुसार उक्त सहमति पहिले नै केन्द्रीय समिति र सचिवालयबाट अनुमोदन भइसकेकाले पुनः निर्णय आवश्यक नपर्ने दाबी गरिएको छ। पार्टी सचिवालय सदस्य गणेश पराजुलीले संविधानअनुसार निर्वाचित सांसदहरूले दलको नेता छान्ने व्यवस्था रहेकाले सोही आधारमा निर्णय हुने बताए।
त्यस्तै सहमहामन्त्री विपिन कुमार आचार्यले पनि केन्द्रीय समिति बैठकपछि संसदीय दलको बैठक बसेर सहमतिमै नेता चयन गरिने जानकारी दिए।
नवनिर्वाचित सांसदहरूको शपथग्रहण बिहीबार संसद भवनमा हुने तय छ भने त्यसलगत्तै दलको नेता चयन गरी राष्ट्रपतिलाई जानकारी गराउने तयारी गरिएको छ। रास्वपाले स्पष्ट बहुमत ल्याएकाले बालेनलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढ्ने बताइएको छ।




