spot_img

विराटनगर हत्या प्रकरण: ‘हराएको’ नाटक गर्ने श्रीमान् नै निस्किए मुख्य आरोपी

spot_img
spot_img

काठमाडौँ,१२ चैत । विराटनगरमा एक साताअघि भएको एक जघन्य हत्या प्रकरणको रहस्य खुलेको छ। आफ्नै श्रीमतीको हत्या गरी शव लुकाउने र त्यसपछि ‘हराएको’ भन्दै प्रहरीमा उजुरी दिने श्रीमान् नै मुख्य आरोपी भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको विवरणअनुसार विराटनगर–१५ की ३२ वर्षीया कोमल कुमारी साहको हत्या उनकै श्रीमान् रोशन साहले गरेका हुन्। घटनामा उनका दाजु (जेठाजु) दिपेन्द्र साहले पनि सहयोग गरेको पुष्टि भएको छ।

प्रहरीका अनुसार चैत ६ गते मध्यरातमा रोशनले घरभित्रै श्रीमतीको घाँटी कसी हत्या गरेका थिए। त्यसपछि दुवै दाजुभाइले शवलाई डोरीले बाँधेर तन्नामा पोको पारी सिटी सफारीमार्फत करिब ४ किलोमिटर टाढा विराटनगर–१७ स्थित एक नालीमा फालेका थिए।

अपराध लुकाउन रोशनले चैत ८ गते इलाका प्रहरी कार्यालयमा श्रीमती हराएको भन्दै निवेदन दिएका थिए। उनले आफूमाथि शंका नआओस् भनेर माइती पक्षसँग पनि निरन्तर सम्पर्कमा रही खोजी भइरहेको नाटक गरेका थिए।

तर चैत १० गते स्थानीयले नालीमा शंकास्पद पोको देखेपछि प्रहरीले शव फेला पारेको थियो। अनुसन्धानका क्रममा घटनास्थल, हुलिया विवरण र अन्य प्रमाण विश्लेषण गर्दा शंका श्रीमान् तर्फ केन्द्रित भएको प्रहरीले जनाएको छ।

सोधपुछका क्रममा रोशनले दाम्पत्य सम्बन्धमा आएको अविश्वास र शंकाका कारण हत्या गरेको स्वीकार गरेका छन्। प्रहरीले घटनालाई पूर्वनियोजित बताएको छ, किनकि आरोपीहरूले सीसीटीभी नभएको स्थान रोजेका थिए।

हाल दुवै आरोपीलाई अदालतबाट म्याद थप गरी ‘कर्तव्य ज्यान’ मुद्दामा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय