काठमाडौँ,१२ चैत । रवि लामिछाने विरुद्ध दायर मुद्दासम्बन्धी अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि सुरु भएको सुनुवाइ मंगलबार नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो, जसलाई आज निरन्तरता दिइएको हो।
यो रिट महान्यायाधिवक्ता सविता भण्डारी को निर्देशनविरुद्ध दायर गरिएको हो। उनले लामिछानेमाथि विभिन्न जिल्लामा चलिरहेका सहकारी ठगीसँगैका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।
उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित कानुनका विद्यार्थीहरूले सर्वोच्चमा रिट दायर गरेका हुन्। महान्यायाधिवक्ताको आदेशअनुसार लामिछानेलाई सहकारी ठगी मुद्दामा मात्र सीमित गर्दै अन्य दुई गम्भीर प्रकृतिका अभियोग हटाउने प्रयास गरिएको थियो।
अब अदालतको आगामी निर्णयले यस प्रकरणको कानुनी दिशालाई महत्वपूर्ण रूपमा प्रभावित गर्ने देखिएको छ।




