बीरगन्ज,१२ चैत । चैते दशैंको अष्टमीको अवसरमा बीरगन्जको प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरबाट आज तेस्रो डोली यात्रा भव्य रूपमा निकालिने भएको छ।
गहवामाई मन्दिर व्यवस्थापन समितिको आयोजना अनुसार आज दिउँसो २ बजे डोली र निशानको विशेष पूजापछि अपरान्ह ४ बजे मन्दिर प्रांगणबाट यात्रा सुरु हुनेछ। यात्रा मार्गमा २ नम्बर रोड, वीर्ता मन्दिर, अलखीयामठ, महावीरस्थान हुँदै माईस्थानको चोकमा परिक्रमा गरी पुनः गहवामाई मन्दिरमा समापन हुनेछ।
समितिका अध्यक्ष नरेन्द्र साहले डोली यात्राका लागि सबै तयारी पूरा भइसकेको बताए। उनले भक्तजनहरूलाई आस्था र श्रद्धाका साथ सहभागी भएर यात्रालाई सफल बनाउन आह्वान गरेका छन्।
यात्रामा सहभागी प्रत्येक भक्तजनलाई गहवामाई माताको तस्बिर अङ्कित निशान वितरण गरिनेछ, जसको शुल्क प्रति निशान ३५० रुपैयाँ तोकिएको छ। डोली यात्रापछि साँझ मन्दिर प्रांगणमा महाआरतीको कार्यक्रम पनि आयोजना हुने समितिले जनाएको छ।
यस अवसरमा हजारौं भक्तजनको उपस्थितिको अपेक्षा गरिएको छ, जसले बीरगन्जमा गहवामाई माताप्रतिको श्रद्धा र सांस्कृतिक परम्परालाई झल्काउने विश्वास व्यक्त गरिएको छ।




