सुर्खेत, १२ चैत । १६ वर्षीया इनिशा विकको हत्या प्रकरण अब कानुनी प्रक्रियाको निर्णायक चरणमा प्रवेश गर्ने भएको छ। प्रहरीले दुई साताको अनुसन्धानपछि तयार पारेको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ र अध्ययनपछि आइतबार अदालतमा अभियोगपत्र दर्ता गरिने तयारी गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदनको अध्ययन गरिरहेको छ। प्रतिवेदन सन्तोषजनक नभए थप अनुसन्धानका लागि फिर्ता पठाउन सकिने जनाइएको छ। सार्वजनिक बिदाका कारण प्रक्रिया ढिला भएको हो।
प्रहरी अनुसन्धान अनुसार, घटनामा इनिशाका प्रेमी भनिएका अनमोल गौली मुख्य अभियुक्त रहेको निष्कर्ष निकालिएको छ। उनीसहित चार जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाउन सिफारिस गरिएको छ भने मुख्य अभियुक्तमाथि जबरजस्तीकरणीको आरोप पनि लगाइएको छ। अन्य तीन जनामाथि घटनास्थलमा उपस्थित भएर पनि पीडितलाई बचाउने प्रयास नगरेको आरोप छ।
अनुसन्धानका क्रममा सामूहिक बलात्कार पुष्टि हुने ठोस प्रमाण नदेखिएको प्रहरीले जनाएको छ। पोस्टमार्टम रिपोर्ट र अन्य वैज्ञानिक परीक्षणका आधारमा शारीरिक सम्पर्कपछि भएको अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको निष्कर्ष निकालिएको छ।
घटना फागुन २३ गतेको हो। विद्यालय जाने भन्दै घरबाट निस्किएकी इनिशा केही घण्टापछि वीरेन्द्रनगर नजिकैको जंगलमा अचेत अवस्थामा फेला परेकी थिइन्। अस्पताल पुर्याउँदा उनलाई मृत घोषित गरिएको थियो।
यद्यपि, मृतकका परिवार र आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन् र अझैसम्म शव बुझ्न मानेका छैनन्। घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै विभिन्न स्थानमा प्रदर्शनसमेत भइरहेका छन्।
प्रहरीले घटनामा सीसीटीभी फुटेज, मोबाइल डाटा, वैज्ञानिक परीक्षण लगायतका प्रमाणको आधारमा प्रतिवेदन तयार पारेको जनाएको छ। अब यो बहुचर्चित प्रकरण अदालतमा प्रवेश गरेपछि थप तथ्यहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ।




