spot_img

देशभर श्रद्धा र भक्ति साथ मनाइँदै रामनवमी

spot_img
spot_img

बीरगन्ज,१३ चैत । असत्यमाथि सत्यको विजयको प्रतीक तथा भगवान् श्री रामचन्द्र को जन्मजयन्तीको अवसरमा आज देशभर रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ।

चैत्र शुक्ल नवमीका दिन मनाइने यस पर्वका अवसरमा बिहानैदेखि विभिन्न राम मन्दिरहरूमा भक्तजनको ठूलो भीड लागेको छ। धार्मिक विश्वास अनुसार त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याका सुपुत्रका रूपमा भगवान् रामको जन्म यसै दिन भएको मानिन्छ।

धर्मशास्त्रविद्हरूका अनुसार रामनवमी केवल धार्मिक पर्व मात्र नभई आदर्श शासन व्यवस्था र अनुशासित जीवनशैलीको प्रतीक पनि हो। रामराज्यको अवधारणालाई आज पनि सुशासन र समृद्धिको आदर्शका रूपमा लिइन्छ।

यस दिन व्रत बस्ने, पूजा–अर्चना गर्ने, रामनाम जप गर्ने र रामायण वाचन गर्ने परम्परा रहेको छ। विशेष गरी जानकी मन्दिर लगायतका धार्मिक स्थलहरूमा नेपाल र भारतबाट हजारौँ श्रद्धालु भेला भएका छन्।

भक्तजनहरूले पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नान गरी दिनभर पूजा गर्ने र साँझ भजन–कीर्तनमा सहभागी हुने गरेका छन्। धार्मिक मान्यता अनुसार आजको दिन भगवान् रामको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने र घरमा सुख–समृद्धि आउने विश्वास गरिन्छ।

यसरी, रामनवमीले धार्मिक आस्था मात्र नभई नैतिकता, मर्यादा र समाजमा सकारात्मक ऊर्जा फैलाउने पर्वका रूपमा विशेष महत्व बोकेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय