काठमाडाै,१३ चैत । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। नियमित गस्तीका क्रममा बुधबार र बिहीबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंको ठमेलस्थित एक होटलबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। त्यस्तै, नयाँ बजार क्षेत्रबाट लागुऔषध ‘पोलेन’ सहित एक जनालाई नियन्त्रणमा लिइएको छ।
उपत्यकाबाहिर पनि विभिन्न जिल्लामा कारबाही तीव्र बनाइएको प्रहरीले जनाएको छ। झापा, बाँके, सिरहा, दाङ लगायतका स्थानबाट लागुऔषधसहित व्यक्तिहरू पक्राउ परेका छन्। त्यसैगरी, कैलाली र कञ्चनपुरबाट पनि लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरू नियन्त्रणमा आएका छन्।
पूर्वी नेपालतर्फ सुनसरीको धरान क्षेत्रमा गरिएको कारबाहीका क्रममा ट्रामाडोल र अन्य ट्याब्लेटसहित दुई जना तथा १७ किलोग्राम गाँजासहित थप दुई जना पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई सम्बन्धित स्थानका प्रहरी कार्यालयमार्फत आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ। लागुऔषध नियन्त्रणका लागि देशभर निगरानी र अभियानलाई अझ कडा बनाइने पनि प्रहरीले जनाएको छ।




