काठमाडौं,१३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कार्यभार सम्हालेलगत्तै महान्यायाधिवक्ता सविता भण्डारीले आफ्नो पदबाट राजीनामा दिएकी छन्। शुक्रबार भण्डारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएकी हुन्। निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको सरकारद्वारा गत भदौ २९ गते नियुक्त भएकी भण्डारीले नयाँ सरकार गठनसँगै पदबाट बाहिरिने निर्णय लिएकी हुन्।
नेपालको न्यायिक इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता बन्ने सौभाग्य पाएकी भण्डारीको बहिर्गमनलाई सत्ता परिवर्तनपछिको स्वाभाविक प्रक्रिया रूपमा हेरिएको छ।
नयाँ निर्वाचनपछि १८२ सिटको भारी बहुमतसहित प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेपछि सरकारी कानुनी सल्लाहकारको रूपमा नयाँ नियुक्ति गर्ने बाटो खुलेको छ। आफ्नो कार्यकालमा भण्डारीले केही महत्वपूर्ण कानुनी राय र सुधारका पहलहरू अघि बढाएकी थिइन्।
अब प्रधानमन्त्री शाहको सिफारिसमा नयाँ महान्यायाधिवक्ता नियुक्तिको प्रक्रिया सुरु हुनेछ, जसले नयाँ सरकारको कानुनी प्रतिरक्षा र सल्लाहकारको भूमिका निर्वाह गर्नेछ।




