जनकपुर, १६ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई व्यवस्थित, निष्पक्ष र मर्यादित बनाउन मधेस प्रदेश सरकारले यस वर्ष विशेष कडाइ गर्ने भएको छ। शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी ले परीक्षा सञ्चालनमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने स्पष्ट पारेकी छन्।
जनकपुरधाममा आयोजित ‘एसइई–२०८२ प्रदेशस्तरीय समन्वय बैठक’लाई सम्बोधन गर्दै मन्त्री तिवारीले परीक्षा केन्द्रमा मोबाइल फोन पूर्ण रूपमा निषेध गरिएको जानकारी दिइन्। यदि कसैले लुकीछिपी मोबाइल ल्याएको पाइएमा जफत मात्र नभई तत्कालै नष्ट गरिने कडा चेतावनी दिइएको छ।
उनले एसइई विद्यार्थीको भविष्यसँग जोडिएको संवेदनशील विषय भएकाले सबै निकायले उच्च जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिइन्। परीक्षा अवधिभर शान्त र सुरक्षित वातावरण सुनिश्चित गर्न सुरक्षा निकाय र शिक्षा प्रशासनबीच प्रभावकारी समन्वय गरिने जनाइएको छ।
बैठकमा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने, प्रश्नपत्रको गोपनीयता कायम राख्ने र नक्कल नियन्त्रण गर्न विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरिएको थियो। साथै, परीक्षा केन्द्र वरपर निषेधित क्षेत्र घोषणा गर्ने, अनुगमन टोली सक्रिय बनाउने र सम्भावित समस्याको तत्काल समाधानका लागि द्रुत संयन्त्र परिचालन गर्ने निर्णयसमेत गरिएको छ।
प्रदेशभर एसइईलाई निष्पक्ष र व्यवस्थित बनाउन आवश्यक तयारी तीव्र पारिएको सम्बन्धित निकायले जनाएको छ।




