नवलपरासी,१६ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोटमा आज बिहान तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।
गैँडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बसले अगाडि गुडिरहेका पिकअप भ्यान र ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रक चालक इन्द्र तामाङ, पिकअप चालक दर्शन काप्री र बस चालक मोहनसिंह बलामी मगरसहित तीनै सवारीका चालक घाइते भएका छन्। साथै, बसमा सवार अन्य नौ जना यात्रु पनि सामान्य घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि चितवन पठाइएको छ। दुर्घटनापछि केही समय अवरुद्ध भएको यातायात अहिले सामान्य अवस्थामा फर्किएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।




