सुर्खेत,१६ चैत । १६ वर्षीया इनिसा विकको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ। घटनाको अनुसन्धान र अभियोजन प्रक्रियालाई लिएर अहिले दुई पक्षबीच तीव्र असहमति देखिएको छ।
यसअघि प्रहरीले घटनामा सामूहिक बलात्कार नभएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो। तर, आइतबार सरकारी वकिल कार्यालयले भने सामूहिक बलात्कार भएको दाबी गर्दै चार जना नाबालकविरुद्ध मुद्दा दायर गरेको छ।
यसै विषयलाई लिएर अहिले आन्दोलन चर्किएको छ। एकातर्फ इनिसाका परिवार र अधिकारकर्मीहरूले जिल्ला अदालत अगाडि न्यायको माग गर्दै दबाब दिइरहेका छन् भने अर्कोतर्फ तीन जना नाबालकका आफन्तहरू निर्दोषलाई फसाइएको भन्दै सडकमा उत्रिएका छन्।
सोमबार वीरेन्द्रनगरमा नाबालकका आफन्तहरूले ‘निर्दोषलाई होइन, दोषीलाई सजाय देऊ’ र ‘न्याय देखिने बनाऊ’ जस्ता नारासहित प्रदर्शन गरेका छन्। उनीहरू सरकारी वकिल कार्यालय अगाडि धर्नामा बसेर निष्पक्ष छानबिन र न्यायको माग गरिरहेका छन्।
आन्दोलनरत पक्षका अनुसार घटनासम्बन्धी प्रारम्भिक अनुसन्धानमा सामूहिक बलात्कार नभएको निष्कर्ष आए पनि अभियोगपत्रमा फरक दाबी गरिएकोले निर्दोषलाई फसाउने प्रयास भएको हो। उनीहरूले अनुसन्धानमा संलग्न निकायहरूले निष्कर्ष निकालिसकेको अवस्थामा फरक अभियोजन गर्नु न्यायसंगत नभएको बताएका छन्।
एक आन्दोलनकारी आफन्तले भने, “हामी न्यायालयमाथि विश्वास गरेर बसेका थियौँ, तर घटनामा उद्धारका लागि पुगेका नाबालकहरूलाई समेत मुछिएको देखियो। त्यसैले आन्दोलन गर्न बाध्य भयौँ।”
उनीहरूले न्यायिक प्रक्रियालाई प्रभाव पार्ने व्यक्तिहरूमाथि समेत कारबाही गर्न माग गरेका छन्। हाल यस प्रकरणले स्थानीय स्तरमा गम्भीर बहस र तनाव उत्पन्न गराएको छ।




