काठमाडौं,१६ चैत । विभिन्न राइड सेयरिङ कम्पनीहरूले चालकहरूमाथि श्रम शोषण गरेको आरोप लगाउँदै राइडरहरू आन्दोलित भएका छन्।
‘स्वतन्त्र चालक फाउन्डेसन नेपाल’को आयोजनामा सोमबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका राइडरहरूले विरोध प्रदर्शन गरेका हुन्। उनीहरू मोटरसाइकल र स्कुटरसहित सडकमा उत्रिएर विभिन्न नारा लगाउँदै आफ्नो असन्तुष्टि जनाएका थिए।
प्रदर्शनकारीहरूले राइड सेयरिङ कम्पनीहरूले उचित पारिश्रमिक नदिने, कार्यशर्त असमान बनाउने तथा चालकहरूलाई शोषण गर्ने गरेको आरोप लगाएका छन्। उनीहरूले श्रम अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।
आन्दोलनकारीहरूले नियमनकारी नीति नहुँदा चालकहरू दीर्घकालीन रूपमा समस्यामा परेको भन्दै तत्काल समाधानको माग गरेका छन्।




