काठमाडौं,१६ चैत । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन्।
झाले आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनालाई आफ्नो राजीनामापत्र बुझाएका हुन्।
राजीनामा पत्रमा उनले आफू नेपाल सरकारको निर्णयअनुसार उक्त पदमा नियुक्त भएको उल्लेख गर्दै कार्यकालभर संस्थाको सर्वोत्तम हितमा काम गर्ने प्रयास गरेको बताएका छन्। उनले पत्रकारिताका मूल्य–मान्यताको पालना गर्दै राससको विकास र सुदृढीकरणका लागि निरन्तर प्रयास गरेको उल्लेख गरेका छन्।
झाले देशको बदलिँदो राजनीतिक परिस्थितिलाई आत्मसात गर्दै नयाँ सरकारले आफ्नो अनुकूलतामा संस्था सञ्चालन गर्न पाउनुपर्ने धारणा राखेका छन्। साथै उनले सरकारको सफलताको कामना गर्दै नैतिकताको आधारमा पदबाट अलग हुनु उचित ठानेको बताएका छन्।
उनको राजीनामासँगै रासस नेतृत्वमा नयाँ नियुक्तिको बाटो खुलेको छ।




