नेपालगञ्ज,१६ चैत । बर्ड फ्लूको जोखिम देखिएपछि बाँके जिल्लामा भारतसँग जोडिएका सीमा नाकाहरूमा उच्च सतर्कता अपनाइएको छ।
पशु क्वारेन्टाइन कार्यालय, बाँकेका प्रमुख डा. हरेराम यादवका अनुसार जिल्लाका विभिन्न नाकाबाट अवैध रूपमा भित्र्याइने चल्ला तथा अण्डा दैनिक रूपमा नियन्त्रणमा लिएर नष्ट गरिएको छ। सरकारले भारतबाट कुखुराका चल्ला र सेतो अण्डा आयातमा प्रतिबन्ध लगाएको उनले बताए।
डा. यादवले खुला सीमाका कारण अवैध आयातका प्रयास भइरहे पनि सुरक्षाकर्मीको निगरानीपछि ती सामग्री छाडेर भाग्ने अवस्था रहेको जानकारी दिए। उनका अनुसार जिल्लामा दैनिक करिब २० देखि २५ वटा ब्रोइलर कुखुरा तथा चल्ला नष्ट गरिँदै आएको छ।
उनले बर्ड फ्लू अहिलेसम्म जिल्लामा पुष्टि नभए पनि जोखिम उच्च रहेको भन्दै आन्तरिक ढुवानीमा समेत कडाइ गरिएको बताए। विभागीय निर्देशनअनुसार नियन्त्रण र निगरानीलाई थप प्रभावकारी बनाइएको उनको भनाइ छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका वरिष्ठ पशु विकास अधिकृत डा. गणेशबहादुर पुनले पनि चल्ला आयातमा कडाइ गरिएको र विभिन्न नाकामा निरन्तर निगरानी भइरहेको जानकारी दिए।
सुइया, बगौँडा, खडैँचा, जमुनाहा लगायतका सीमा नाकामा विशेष सतर्कता अपनाइएको प्रशासनले जनाएको छ।




