काठमाडौँ,१७ चैत । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित नौ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको भद्रपुर नगरपालिका–५ नयाँबजारबाट एक जना, मोरङको उर्लाबारी–७ बरगाछीबाट दुई जना र बाराको जितपुर सिमरा–१० नितनपुरबाट दुई जनालाई खैरो हेरोइन र नगदसहित नियन्त्रणमा लिइएको हो।
यस्तै, तनहुँको आँबुखैरेनी–२ ढापटारबाट एक जना, पर्साको वीरगञ्ज–१६ बाट दुई जना र सुर्खेतको वीरेन्द्रनगर–८ बाट एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूबाट चिकित्सकको सिफारिसमा मात्र पाइने ट्रामाडोल ट्याबलेट करिब १,७०० थान बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




