जनकपुर,१७ चैत । धनुषाको ढल्केबरस्थित एक होटलमा २३ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छन्।
मिथिला नगरपालिका–६ मा रहेको जुनतारा स्टाफ लाइन होटलमा मंगलबार बिहान करिब साढे ११ बजेतिर पोखरा महानगरपालिका–१३ मियापाटीकी जेनिसा विक मृत भेटिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।
प्रहरीका अनुसार मृतकको मुखबाट फिँज निस्किएको देखिए पनि शरीरका अन्य भागमा चोटपटक भने भेटिएको छैन। मृत्युको कारणबारे अनुसन्धान जारी रहेको छ। घटनापछि होटल सञ्चालक रामपुकार साहसहित त्यहाँ कार्यरत अन्य कर्मचारी फरार रहेका छन्।
प्रहरीले उनीहरूको खोजी तीव्र पारेको जनाएको छ। शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ।




