काठमाडौँ,१७ चैत । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंक का गभर्नर विश्व पौडेल बीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ। गभर्नर पौडेलले प्रधानमन्त्री कार्यालय पुगेर भेट गरेको जानकारी उनका स्वकीय सचिव शरण कुमार अधिकारी ले दिएका छन्। उनका अनुसार यो पहिलो औपचारिक भेट भए पनि छलफलका विषय सार्वजनिक गरिएको छैन।
तर स्रोतका अनुसार भेटका क्रममा बैंकिङ क्षेत्रमा देखिएका समस्या, रेमिट्यान्स आप्रवाह तथा बाह्य क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री शाहले चासो व्यक्त गरेका थिए। साथै, राष्ट्र बैंकले सामना गरिरहेका चुनौती र त्यसमा सरकारले गर्नुपर्ने सहजीकरणबारे पनि छलफल भएको बताइएको छ।
यसैबीच गभर्नर पौडेलले लामो समयदेखि रिक्त रहेको डेपुटी गभर्नर पदमा नियुक्तिको विषय उठाएका थिए। करिब एक महिनादेखि दुई पद खाली रहेकाले शीघ्र नियुक्ति भए कामकाज सहज हुने उनले बताएका छन्। हाल नेपाल राष्ट्र बैंक मा दुई डेपुटी गभर्नर पद रिक्त छन्। प्रचलित व्यवस्थाअनुसार कार्यकारी निर्देशकहरूमध्येबाट चार जनाको नाम सिफारिस गरी तीमध्ये दुई जनालाई नियुक्त गर्ने व्यवस्था रहेको छ।




