काठमाडौँ,१७ चैत । नेपाल वायुसेवा निगमले आफ्नो व्यस्त अन्तर्राष्ट्रिय गन्तव्य काठमाडौं–दिल्ली–काठमाडौं रुटमा उडान संख्या बढाएको छ। अब यो रुटमा हप्तामा १० वटा उडान सञ्चालन हुने भएका छन्।
यात्रुहरूको बढ्दो मागलाई ध्यानमा राख्दै चैत १७ गतेदेखि लागू हुने गरी निगमले थप उडान सुरु गरेको हो। यसअघि दैनिक एक मात्र नियमित उडान सञ्चालन हुँदै आएको थियो।
निगमका अनुसार नियमित सेवा ‘आरए २१७/२१८’ का साथै अब ‘आरए २०५/२०६’ उडान नम्बरबाट हप्ताको तीन अतिरिक्त उडान थपिएको छ। नयाँ तालिकासँगै उडान सेवा सुरु भइसकेको जनाइएको छ।
यो विस्तारले नेपाल–भारतबीचको हवाई सम्पर्क अझ सहज बनाउने र यात्रुहरूलाई समय छनोटमा थप सुविधा दिने निगमको अपेक्षा छ।
पर्यटन र व्यावसायिक यात्रुहरूको चाप बढ्दै गएको अवस्थामा काठमाडौं–दिल्ली रुट निगमका लागि सबैभन्दा व्यस्त र आम्दानीमुखी गन्तव्य मानिन्छ।




