काभ्रेपलाञ्चोक,१८ चैत । लगातारको वर्षापछि अवरुद्ध बनेको बीपी राजमार्ग मा यातायात सेवा पुनः सञ्चालनमा आएको छ।
मंगलबार बेलुका वर्षा रोकिएसँगै जोखिम घटेपछि सवारी आवागमन खुलाइएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाह का अनुसार भारी वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै साँझ ७ बजेदेखि पनौती, नमोबुद्ध र दाप्चा क्षेत्रअन्तर्गत चौकीडाँडा–नेपालथोक खण्डमा यातायात रोकिने निर्णय गरिएको थियो।
वर्षा रोकिएपछि काभ्रेभन्ज्याङ र नेपालथोक क्षेत्रमा रोकेर राखिएका सवारीसाधनहरूलाई पुनः गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ। हाल निर्माणाधीन अवस्थामा रहेको यस राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्मको खण्डमा रोशी खोलामाथि बनाइएको अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको छ।
वर्षायाममा यस्तो डाइभर्सन जोखिमपूर्ण हुने भएकाले आवश्यक सतर्कता अपनाइँदै आएको छ।




