वीरगन्ज,१८ चैत । सुदन गुरुङ ज्येष्ठ नागरिकमाथि भएको दुर्व्यवहार घटनापछि सक्रिय देखिएका छन्। उनी स्वयं पीडितको निवासमै पुगेर भेटघाट गर्दै न्याय सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।
केही दिनअघि नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध कार्यकर्ताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध नाराबाजी गर्ने क्रममा ललितपुरको लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडि एक ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
घटना सार्वजनिक हुनासाथ गृहमन्त्री गुरुङले तत्काल छानबिन गर्न निर्देशन दिएका थिए। सोही आधारमा प्रहरीले राष्ट्रिय युवा संघ ललितपुर जिल्ला अध्यक्ष राम शरण शर्मा बजगाईँ लाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
मंगलबार गृहमन्त्री गुरुङ पीडितको घरमै पुगेर भेट्दा पीडितले छिटो कारबाही गरेर साथ दिएकोमा धन्यवाद व्यक्त गरेका थिए।
गृहमन्त्री गुरुङले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै ज्येष्ठ नागरिकमाथिको दुर्व्यवहार अस्वीकार्य रहेको स्पष्ट पारे। “हरेक नागरिकलाई सुरक्षित रूपमा बाँच्ने अधिकार छ, ज्येष्ठ नागरिकप्रति सम्मान गर्नु हाम्रो कर्तव्य हो,” उनले भने। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ भने पक्राउ परेका अभियुक्तलाई कानुनी प्रक्रिया अनुसार कारबाही गरिने जनाएको छ।




