काठमाडौं,१८ चैत । सर्वोच्च अदालत नेपाल ले नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी र नेकपा एमालेकी सांसद पद्मा अर्याल विरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश श्रीकान्त पौडेल को इजलासले बुधबार भएको सुनुवाइपछि रिटमा अन्तरिम आदेश नदिने तर विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्ने निर्णय गरेको हो।
निवेदक खजान्ती महतोले दायर गरेको रिटमा केसी र अर्यालले खस आर्य समूहबाट पटक–पटक सरकारी लाभ र मन्त्री पद प्राप्त गरेको भन्दै उनीहरूलाई समानुपातिक सांसदको रूपमा काम गर्न रोक लगाउन माग गरिएको थियो।
अदालतले मागअनुसार तत्काल रोक नलगाए पनि मुद्दालाई गम्भीर भन्दै अग्राधिकारमा राखेर सुनुवाइ गर्ने निर्णय गरेको छ। साथै, संघीय संसद् सचिवालय र निर्वाचन आयोगलाई उनीहरूको समानुपातिक प्रतिनिधित्व सम्बन्धी आधार र कारण स्पष्ट गर्न निर्देशन दिएको छ।
यो मुद्दाले समानुपातिक निर्वाचन प्रणाली र प्रतिनिधित्व सम्बन्धी कानुनी–राजनीतिक बहसलाई पुनः सतहमा ल्याएको छ।




