रौतहट,१८ चैत । रौतहटको गौर क्षेत्रमा विद्युत महसुल नतिर्ने ग्राहकविरुद्ध नेपाल विद्युत प्राधिकरणले कडाइ थालेको छ। गौर वितरण केन्द्रले लामो समयदेखि बक्यौता नतिर्ने व्यक्ति, व्यवसायिक प्रतिष्ठान तथा सरकारी कार्यालयहरूलाई लक्षित गर्दै लाइन काट्ने अभियान तीव्र बनाएको हो।
केन्द्र प्रमुख धिरेन्द्र यादवका अनुसार पटक–पटकको सूचना र ताकेतालाई बेवास्ता गरिएपछि राजदेवी, ईशनाथ, गरुडा र माधवनारायण नगरपालिकामा एकैदिन विद्युत आपूर्ति काटिएको थियो। त्यसपछि केही स्थानीय तहले आंशिक रकम बुझाएपछि मात्रै लाइन पुनः सुचारु गरिएको जनाइएको छ।
गौर वितरण केन्द्र अन्तर्गतका विभिन्न ११ नगरपालिका र ९२ वडामा रहेका सरकारी कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरूले अझै पनि महसुल भुक्तानीमा ढिलाइ गरिरहेको प्राधिकरणको भनाइ छ।
हालसम्मको तथ्यांक अनुसार, साउनदेखि चैत १६ गतेसम्म ९ करोड ५५ लाखभन्दा बढी बक्यौता रहेका २ हजार ४५ ग्राहकको लाइन काटिएको छ। तीमध्ये १ हजार ७७२ ग्राहकले करिब ५ करोड ५० लाख रुपैयाँ बुझाएपछि पुनः विद्युत सेवा सुचारु गरिएको छ।
यसैबीच, कालोसूचीमा रहेका ६० जनाबाट २४ लाखभन्दा बढी रकम असुल गरिएको छ भने विद्युत चोरीमा संलग्न १२० जनामाथि कारबाही गर्दै जरिवाना समेत उठाइएको छ।
प्राधिकरणले कुनै पनि बहानामा महसुल नतिर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै सरकारी निकाय वा प्रभावशाली व्यक्ति कसैलाई पनि छुट नदिने चेतावनी दिएको छ।




