spot_img

पर्सा मालपोतमा २.९३ करोड हिनामिना प्रकरण : पाँच कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा

spot_img
spot_img

बीरगन्ज,१८ चैत । पर्सा मालपोत कार्यालयमा करोडौं रुपैयाँ राजस्व हिनामिना भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पाँच जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७०/७१ मा रजिस्ट्रेसन शाखामा अनियमितता गर्दै झण्डै २ करोड ९३ लाख ६८ हजार रुपैयाँ बराबरको राजस्व हिनामिना गरिएको पाइएको छ। एउटै रजिस्ट्रेसन नम्बर दोहोरो तथा तेहेरो प्रयोग गरी एकभन्दा बढी लिखत पारित गरिएको र उच्च राजस्व आउने कागजातको रकम सरकारी खातामा दाखिला नगरी अपचलन गरिएको अनुसन्धानबाट खुलेको जनाइएको छ।

यस प्रकरणमा संलग्न रहेको आरोपमा तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्रप्रसाद राउत कुर्मीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो असुल, कैद तथा दोब्बर जरिवानाको माग गरिएको छ।

यस्तै, घटनामा संलग्न भनिएका स्वर्गीय नायब सुब्बा किरणप्रसाद उपाध्यायको हकमा उनका परिवारका सदस्यहरूबाट समेत हिनामिनाको रकम असुल गर्न माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

अख्तियारले उक्त प्रकरणलाई गम्भीर आर्थिक अनियमितताको रूपमा लिँदै थप कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय