रौतहट,१८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सरकारले जनतासँग गरेका सबै वाचा पूरा गर्ने बताएका छन्।
बुधबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावका बेला सार्वजनिक गरिएको वाचा–पत्रअनुसार नै सरकार अघि बढिरहेको स्पष्ट पारे। “हामी जनतासँग गरेको प्रतिबद्धता बोकेर सरकारमा गएका हौं, ती सबै पूरा गर्छौं,” उनले भने।
सिमरा हुँदै वीरगञ्ज पुगेका लामिछाने सोही दिन पर्सा जिल्ला अदालत मा उपस्थित भएका थिए। उनी विरुद्ध दर्ता भएको सहकारी ठगीसम्बन्धी मुद्दामा तारेख बुझ्न अदालत पुगेका हुन्।
अदालतका तहसिलदार देवराज भट्टराई का अनुसार लामिछानेले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै तारेख बुझेका छन्। प्रक्रिया सकेपछि उनी अपराह्न काठमाडौं फर्किएका थिए।
लामिछानेको अदालत उपस्थितिलाई ध्यानमा राख्दै बिहानैदेखि अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।




