सुर्खेत,१९ चैत । सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा २७ दिनपछि परिवारले शव बुझ्ने भएका छन्। भोलि भेरी पुल नजिक सम्झिघाट क्षेत्रमा दाहसंस्कार गर्ने तयारी गरिएको परिवारले जनाएको छ।
इनिशा गत फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–१ मा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेत ले अनुसन्धान सुरु गरेको थियो।
प्रारम्भमा घटना शंकास्पद देखिए पनि पछिल्लो अनुसन्धानमा बलात्कारपछि हत्या भएको आशंकामा केस अघि बढाइएको प्रहरीले जनाएको छ। दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै स्थानीयस्तरमा विभिन्न प्रदर्शनसमेत भएका थिए।
पोस्टमार्टम रिपोर्ट, डिजिटल प्रमाण र अन्य तथ्य संकलनमा समय लाग्दा शव लामो समयसम्म अस्पतालमै राख्नुपरेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मात्र परिवारले शव बुझ्ने सहमति दिएको प्रहरीले जानकारी दिएको छ।
अब भेरी किनारमा अन्तिम संस्कार गरिने तयारीसँगै परिवार र स्थानीय समुदायले न्यायको अपेक्षा राखेका छन्।




