वीरगन्ज,१९ चैत । वीरगन्जसहित आज देशभर श्रद्धा, भक्ति र धार्मिक आस्थाका साथ हनुमान जयन्ती मनाइँदै छ। हिन्दु धर्मावलम्बीहरूले भगवान् रामका परम भक्त तथा शक्तिका प्रतीक मानिने हनुमानको जन्मोत्सव विभिन्न पूजा–आराधना र धार्मिक कार्यक्रममार्फत मनाइरहेका छन्।
वीरगन्जकाे महावीरस्थान मन्दिर, हनुमानढोका दरबार लगायत देशभरका हनुमान मन्दिरहरूमा बिहानैदेखि भक्तजनको उल्लेखनीय भीड लागेको छ। भक्तजनहरूले सिन्दूर, तेल, फूलमाला र प्रसाद चढाउँदै पूजा गर्ने परम्परा अनुसार आराधना गरिरहेका छन्।
सनातन परम्परामा हनुमानलाई साहस, निष्ठा, सेवा र शक्तिको प्रतीकका रूपमा लिइन्छ। यस अवसरमा हनुमान चालीसा, सुन्दरकाण्ड तथा रामभक्ति सम्बन्धी पाठ–पारायण गर्ने चलन रहेको छ। धार्मिक विश्वासअनुसार हनुमानको पूजा–आराधनाले भय, बाधा तथा अशुभ प्रभाव हट्ने मान्यता छ।
पञ्चाङ्ग अनुसार यस वर्ष हनुमान जयन्ती चैत्र शुक्ल पूर्णिमामा परेको छ। भक्तजनहरूले बिहान स्नान गरी मन्दिरमा वा घरमै पूजा गर्ने, धूप–दीप बाल्ने, मन्त्र जप गर्ने र प्रसाद वितरण गर्ने गरेका छन्। वीरगन्जमा विशेष रूपमा महावीरस्थान मन्दिरमा साँझ महाआरती, झाँकी तथा प्रसाद वितरण कार्यक्रम आयोजना गरिनेछ। साथै विभिन्न धार्मिक संघ–संस्थाको पहलमा जुलुस र धार्मिक कार्यक्रमहरू पनि सञ्चालन हुने जनाइएको छ।




