spot_img

बीरगन्ज यातायात कार्यालयमा एकीकृत सेवा सुरु, लाइसेन्स २४ घण्टामै पाइने

spot_img
spot_img

बीरगन्ज,१९ चैत । यातायात व्यवस्था कार्यालय बीरगन्जले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन एकीकृत सेवा प्रणाली लागू गरेको छ। बिहीबारदेखि लागू गरिएको नयाँ व्यवस्थासँगै अब सेवाग्राहीले एउटै स्थानबाट सबै सेवा प्राप्त गर्न सक्ने भएका छन्।

नयाँ प्रणालीअनुसार सवारी दर्ता, नवीकरण, बिमा, कर तिर्ने तथा चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सबै सेवा एउटै काउन्टरबाट उपलब्ध हुनेछ। यसले पहिले जस्तै विभिन्न कोठा धाउनुपर्ने झन्झट हटाएको कार्यालयले जनाएको छ।

अब सेवाग्राहीले उही दिन बायोमेट्रिक र लिखित परीक्षा दिन सक्नेछन् भने भोलिपल्ट नै प्रयोगात्मक परीक्षा (ट्रायल) सम्पन्न गर्न सकिने व्यवस्था गरिएको छ। सबै प्रक्रिया पूरा भएपछि सफल परीक्षार्थीले २४ घण्टाभित्रै लाइसेन्स प्राप्त गर्नेछन्।

कार्यालयका सहायक शाखा अधिकृत रामसुन्दर महतोका अनुसार सेवा प्रणालीलाई व्यवस्थित बनाउन बिचौलियामार्फत हुने अनियमितता पूर्ण रूपमा निषेध गरिएको छ। सेवाग्राहीलाई कुनै समस्या भए सिधै कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

सेवाग्राहीहरूले नयाँ व्यवस्थालाई सकारात्मक रूपमा लिएका छन्। केहीले यसलाई ठूलो राहत भनेका छन् भने भीड व्यवस्थापन र जनशक्ति थप्नुपर्ने सुझाव पनि दिएका छन्।

मधेस प्रदेश सरकार अन्तर्गत श्रम तथा यातायात मन्त्रालयको सेवा सुधार अभियानअन्तर्गत लागू गरिएको यो मोडेल सफल भए अन्य जिल्लामा पनि विस्तार गर्ने तयारी रहेको जनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय