बीरगन्ज,२० चैत । नवगठित सरकारका अर्थमन्त्री स्वर्णिम वाग्ले आज बीरगन्ज आउने कार्यक्रम तय भएको छ। मुलुकको प्रमुख व्यापारिक नाका मानिने वीरगञ्जको वास्तविक अवस्था बुझ्न र अर्थतन्त्र सुधारका उपाय खोज्न उनले यो भ्रमण गर्न लागेका हुन्।
अर्थ मन्त्रालयका अनुसार मन्त्री वाग्ले सिमरा विमानस्थल ओर्लिएपछि वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी), भन्सार कार्यालय तथा सिर्सिया ड्राइपोर्टको स्थलगत निरीक्षण गर्नेछन्। व्यापारिक गतिविधिमा देखिएका समस्या र भन्सार सेवाको प्रभावकारिता सुधार गर्ने विषयमा उनको विशेष ध्यान रहने बताइएको छ।
भ्रमणका क्रममा मन्त्री वाग्लेले बीरगन्ज उद्योग वाणिज्य संघ द्वारा आयोजित कार्यक्रममा सहभागी भई स्थानीय उद्योगी तथा व्यवसायीसँग प्रत्यक्ष छलफल गर्नेछन्। व्यवसायीहरूले भन्सार प्रक्रियामा हुने ढिलाइ, ढुवानी लागत वृद्धि र नीतिगत अस्पष्टता जस्ता मुद्दा उठाउने तयारी गरेका छन्।
अर्थ मन्त्रालय स्रोतका अनुसार यस भ्रमणको मुख्य उद्देश्य सीमा क्षेत्रमा व्यापारको वास्तविक अवस्था मूल्याङ्कन गर्नु, राजस्व संकलनको समीक्षा गर्दै सुधारका उपाय खोज्नु तथा निजी क्षेत्रसँग समन्वय गरी लगानीमैत्री वातावरण निर्माण गर्नु रहेको छ। अर्थशास्त्रीसमेत रहेका मन्त्री वाग्लेको यो पहललाई स्थानीय सरोकारवालाले आर्थिक सुधारतर्फको सकारात्मक संकेतका रूपमा लिएका छन्।




