बीरगन्ज,२० चैत । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रतिबन्धित अनलाइन सट्टेबाजी एप तथा प्लेटफर्ममार्फत कुनै पनि प्रकारको आर्थिक कारोबार नगर्न सर्वसाधारणलाई पुनः सचेत गराएको छ। सरकारले यस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइसकेको अवस्थामा ब्यूरोले गैरकानुनी कार्यमा संलग्न नहुन आग्रह गरेको हो।
ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठ का अनुसार अनलाइन बेटिङ वा सट्टेबाजीमा संलग्न हुनु फौजदारी कसुर हो। यस्ता प्लेटफर्म सञ्चालन गर्ने वा कारोबारमा संलग्न हुने व्यक्तिविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अनुसार कारबाही हुने र दोषी ठहरिए कैद, जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ।
प्रहरीले सट्टेबाजीमार्फत आर्जित अवैध रकम तथा प्रयोग गरिएका मोबाइल, ल्यापटपजस्ता उपकरण समेत जफत गरिने स्पष्ट पारेको छ। साथै, यस्ता गतिविधिबारे जानकारी पाएमा तुरुन्त प्रहरीलाई खबर गर्न र कानुन पालना गर्न सबैलाई आग्रह गरिएको छ।




