वीरगन्ज,२० चैत । वीरगन्जस्थित स्काईलाइन इन्फ्रा लिमिटेड ले आफ्नो नाम जोडेर प्रकाशित भएको एक समाचारप्रति गम्भीर आपत्ति जनाउँदै उक्त सामग्री पूर्ण रूपमा झुटो, भ्रामक र प्रायोजित भएको दाबी गरेको छ। खोज पत्रकारिता केन्द्र को सहकार्यमा उकालो अनलाइनमा प्रकाशित “महानगर नै भर्याङ बनेको १ अर्ब ४३ करोडको जग्गा हडप्ने खेल” शीर्षकको समाचारप्रति कम्पनीले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।
कम्पनीका सचिवद्वारा जारी विज्ञप्तिमा उक्त समाचारले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै कम्पनीको प्रतिष्ठामा नकारात्मक असर पार्ने उद्देश्य राखेको आरोप लगाइएको छ। साथै, कम्पनीको धारणा नलिई तथा आवश्यक प्रमाणको अध्ययन नगरी एकपक्षीय रूपमा समाचार प्रकाशित गरिएको उल्लेख गरिएको छ।
कम्पनीका अनुसार सम्बन्धित विषय हाल भूमिसुधार तथा मालपोत कार्यालयमा विचाराधीन रहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने मनसायका साथ सामग्री सार्वजनिक गरिएको हो, जसले पत्रकार आचारसंहिताको उल्लङ्घन गरेको दाबी गरिएको छ।
स्काईलाइन इन्फ्रा लिमिटेडले आफूले कुनै पनि अवैध कार्य नगरेको स्पष्ट पार्दै उक्त जग्गा कानुनी प्रक्रिया अनुसार खरिद–बिक्री गरी मालपोत कार्यालय पर्साबाट विधिवत दर्ता गरिएको जनाएको छ। साथै वीरगञ्ज महानगरपालिकाबाट नक्सा पास गराएर भवन निर्माण गरिएको पनि उल्लेख गरेको छ।
कम्पनीले सम्पूर्ण कागजात सुरक्षित रहेको र यसअघि देखिएका विवादहरू अदालतबाट समाधान भइसकेको दाबी गर्दै आगामी दिनमा यस्ता भ्रामक समाचार प्रकाशन नगर्न आग्रह गरेको छ। पुनः यस्ता घटना दोहोरिए कानुनी कारबाही अघि बढाइने चेतावनी पनि दिएको छ।




