वीरगञ्जमा अर्थमन्त्री वाग्लेको व्यवसायीसँग अन्तरक्रिया: सुशासन र आर्थिक सुधार सरकारको प्राथमिकतामा

spot_img

वीरगञ्ज, २० चैत – नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वीरगञ्जका व्यवसायी तथा उद्योगपतिहरूसँग व्यापारका विभिन्न समस्याबारे अन्तरक्रिया गरेका छन्। वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी–व्यवसायी, नागरिक अगुवा तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

व्यवसायीहरूको समस्या सुनेपछि मन्तव्य राख्दै मन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माण अघि निजी क्षेत्रको धारणा बुझ्न आफूले वीरगञ्जबाट संवाद सुरु गरेको बताए। उनले सरकारले निजी क्षेत्रको भावना बुझिरहेको उल्लेख गर्दै केही ऐन तत्काल खारेज गरिएको र त्यो ‘ट्रेलर मात्र’ भएको, थप सुधारहरू आउन बाँकी रहेको बताए।

जनताले दिएको म्यान्डेट पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले विगतमा कांग्रेस तथा वामपन्थी दलहरूले राजनीतिक र सामाजिक आन्दोलनमा महत्वपूर्ण योगदान गरे पनि आर्थिक विकासको क्षेत्रमा अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको दाबी गरे।

उनले नीति र नियत सही भए धेरै काम गर्न सकिने उल्लेख गर्दै सरकार सुशासन र आर्थिक सुधारमा केन्द्रित रहेको बताए। निजी क्षेत्रलाई सहज वातावरण उपलब्ध गराउँदै अब कुनै पनि कामका लागि घुस वा ‘सेटिङ’ आवश्यक नपर्ने उनको भनाइ थियो।

मन्त्री वाग्लेले रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै सरकारले वैधानिक रूपमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिने जानकारी दिए। साथै, करको बोझ घटाउने, कानुनी जटिलता कम गर्ने र ऐन–कानुनलाई व्यवस्थित बनाउने विषयमा सरकार गम्भीर रहेको उनले बताए।

देशलाई आर्थिक वृद्धिको मार्गमा अगाडि बढाउने र सुशासन कायम गर्ने सरकारको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै उनले अब सीमित समूहले नीतिमा कब्जा गर्न नसक्ने दाबी गरे।

कार्यक्रम वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी, नागरिक अगुवा तथा पत्रकारहरूले आ–आफ्ना सुझाव र धारणा प्रस्तुत गरेका थिए। कार्यक्रममा रास्वपा पर्सा सभापती एवं पर्सा निर्वाचन क्षेत्र नं. १ सांसद हरि पंन्तको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेलाई वीरगञ्जका निजी क्षेत्र तथा विभिन्न संघ–संस्थाबाट प्राप्त सुझावहरू समेटिएको सुझावपत्रको संकलन वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले हस्तान्तरण गरेका थिए।

यसअघि अर्थमन्त्री डा. वाग्लले वीरगंज सिर्सियास्थित सुख्खा बन्दरगाह भन्सार र आइसिपी भन्सार कार्यालयको समेत अवलोकन अनुगमन गरेका थिए । भन्सार कार्यालयको अनुगमनपछि डा. वाग्लेले सुधारका पक्षहरुका बिषयमा समेत कर्मचारीहरुसँग छलफल गरेका थिए । यसअघिको सरकारले दुबै भन्सारलाई एकै ठाउँमा गाभेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय