काठमाडौं,२१ चैत । भारतलाई पेनाल्टी शुटआउटमा ४–३ ले पराजित गर्दै बंगलादेशले दोस्रोपटक साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बंगलादेशले यसअघि सन् २०२४ मा नेपाललाई फाइनलमा ४–१ ले पराजित गर्दै पहिलोपटक उपाधि चुमेको थियो ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएपछि नतिजा पेनाल्टीमार्फत निकालिएको थियो।
पेनाल्टीमा बंगलादेशले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो। निर्णायक क्षणमा भारतका ओमंग दोदुमको प्रहार पोस्ट बाहिर गएपछि बंगलादेशका रोनान सुलिभानले अन्तिम प्रहारमा गोल गर्दै टोलीलाई जित दिलाए।
यसअघि बंगलादेशले सन् २०२४ मा नेपाललाई फाइनलमा ४–१ ले हराउँदै पहिलोपटक उपाधि जितेको थियो। भारत भने दोस्रोपटक च्याम्पियन बन्ने अवसरबाट वञ्चित भएको छ।
साफ यू–२० च्याम्पियनसिपमा बंगलादेशको यो लगातार दोस्रो सफलता हो, जसले टोलीको युवा फुटबलमा बढ्दो प्रभावलाई देखाएको छ।

