काठमाडौँ,२१ चैत । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले कर्णाली प्रदेशमाथि प्रभावशाली जित हात पारेको छ। आज सम्पन्न खेलमा एपीएफले कर्णालीलाई १० विकेटले सहजै पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो।
कर्णालीले दिएको १०८ रनको सामान्य लक्ष्य एपीएफले मात्र १२ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्यो। एपीएफका ओपनर आसिफ शेख ले अविजित ६५ रन बनाउँदै टोलीलाई जिततर्फ डोहोर्याए भने दीपक बोहराले ४२ रनको नटआउट योगदान दिए।
यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली २६ ओभरमा १०७ रनमै समेटिएको थियो। कर्णालीका अर्जुन घर्तीले सर्वाधिक ३८ रन बनाए। बलिङतर्फ एपीएफका दीपेश कँडेलले ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे।
यो जितसँगै एपीएफ ६ खेलबाट ५ अंकसहित छैटौं स्थानमा पुगेको छ भने कर्णाली समान खेलबाट ३ अंकसहित आठौं स्थानमा रहेको छ।
उता वीरगञ्जमा जारी अर्को खेलमा गण्डकी प्रदेशले दिएको २२८ रनको लक्ष्य पछ्याउँदै कोशी प्रदेश ब्याटिङ गरिरहेको छ। प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ।

