काठमाडौं,२२ चैत । केपी शर्मा ओली र रमेश लेखक ले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालत मा सुनुवाइ हुने भएको छ।
‘जेनजी’ आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि दुवै नेतालाई चैत १४ गते पक्राउ गरिएको थियो। पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनीहरूले भोलिपल्ट सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए।
यसअघि प्रारम्भिक सुनुवाइमा अदालतले सरकारका नाममा ‘कारण देखाउ’ आदेश जारी गरेको थियो। सोही अनुसार सरकार पक्षले लिखित जवाफ पेश गरिसकेको छ।
आज हुने सुनुवाइमा दुवै पक्षका कानुन व्यवसायीहरूले पक्राउको कानुनी आधार र औचित्यबारे बहस गर्नेछन्। अदालतले सुनुवाइपछि उनीहरूलाई रिहा गर्ने वा हिरासतमा राख्ने विषयमा महत्त्वपूर्ण निर्णय दिने अपेक्षा गरिएको छ।
यस घटनालाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ भने केही पक्षले यसलाई राजनीतिक प्रतिशोधको रूपमा समेत व्याख्या गरेका छन्।

