काठमाडाै,२२ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानलाई महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ खोल्न ४८ घण्टाको अन्तिम चेतावनी दिएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सम्झौता गर्न दिएको समय सकिन लागेको उल्लेख गर्दै इरानमाथि दबाब बढाएका हुन्। उनले यसअघि नै जलमार्ग खुला नगरे कडा कदम चाल्ने चेतावनी दिएका थिए।
‘स्ट्रेट अफ हर्मुज’ विश्व व्यापार, विशेषगरी तेल आपूर्तिका लागि अत्यन्तै संवेदनशील मार्ग मानिन्छ। यही कारणले अमेरिका र इरानबीच तनाव चुलिँदै गएको छ।
यसअघि ट्रम्पले इरानको ऊर्जा संरचनामाथि आक्रमण गर्ने चेतावनी समेत दिएका थिए। पछि इरानी पक्षसँग भइरहेको संवादलाई मध्यनजर गर्दै केही समयका लागि आक्रमण स्थगित गरिएको बताएका थिए।
यद्यपि, पछिल्लो चेतावनीसँगै पुनः दबाब बढेको छ। अन्तर्राष्ट्रिय विज्ञहरूले भने नागरिक ऊर्जा पूर्वाधारमा आक्रमण भए त्यो युद्ध अपराध मानिन सक्ने चेतावनी दिएका छन्।
हाल दुवै देशबीच वार्ता जारी रहे पनि परिस्थितिले थप तनावतर्फ उन्मुख हुने संकेत देखिएको छ।

