काठमाडौं,२२ चैत । देशभर आपराधिक गतिविधि र बिचौलिया प्रवृत्तिविरुद्ध सुरक्षा निकायले चलाएको विशेष अभियान तीव्र बनेको छ।
नेपाल प्रहरीले चैत १८ गतेदेखि सुरु गरेको ‘विशेष खोजी अभियान’ अन्तर्गत पछिल्ला चार दिनमा मात्रै २२६ जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये गुण्डागर्दी, सार्वजनिक स्थानमा अभद्र व्यवहार तथा सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने बिचौलिया संलग्न व्यक्तिहरू रहेका छन्।
प्रहरीका अनुसार अभियानको पहिलो दिन ६९ जना पक्राउ परेका थिए भने दोस्रो दिन ४४ जना थपिएका थिए। त्यसपछि देशका विभिन्न प्रदेशमा गरिएको अपरेसन विस्तारसँगै पक्राउ संख्या निरन्तर बढ्दै गएको हो।
विशेष गरी काठमाडौं उपत्यकामा गरिएको कारबाहीमा एकैदिन ६२ जनासम्म नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। यसले राजधानीमा सक्रिय आपराधिक समूह र अनियमित गतिविधिमाथि कडा निगरानी सुरु भएको संकेत गरेको छ।
प्रहरीले यो अभियान केवल पक्राउमा सीमित नभई नागरिक सुरक्षालाई मजबुत बनाउने र सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन केन्द्रित रहेको स्पष्ट पारेको छ।
हाल पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ। सुरक्षा निकायले यो अभियान आगामी दिनमा पनि थप कडाइका साथ जारी रहने जनाएको छ।

