काठमाडौं,२२ चैत । बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट ठूलो परिमाणमा रकम संकलन गर्ने भएको छ।
केन्द्रीय बैंकले ५६ दिनका लागि ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्दै तरलता सन्तुलनमा राख्ने कदम अघि बढाएको हो।
आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमार्फत (क), (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाहरूले यस प्रक्रियामा सहभागी हुन सक्नेछन्। बैंकहरूले न्यूनतम १० करोड रुपैयाँदेखि कुल निष्कासन सीमासम्म बोलकबोल गर्न पाउने व्यवस्था गरिएको छ।
बजारको माग र आपूर्तिका आधारमा ब्याजदर निर्धारण हुने यो उपकरणमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंकलाई प्राथमिकता दिइनेछ। संकलित रकमको साँवा तथा ब्याज आगामी जेठ १७ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
यस प्रकारको निक्षेप संकलनले बजारमा रहेको निष्क्रिय तरलता व्यवस्थापन गर्न मद्दत पुग्ने र वित्तीय स्थायित्व कायम हुने अपेक्षा गरिएको छ।

