सुर्खेत,२२ चैत । आर्थिक अवस्था सुधार्ने सपना बोकेर वैदेशिक रोजगारीमा गएकी सुर्खेत सिम्ताकी यमुना सुनारको शव तीन दिनअघि नेपाल फर्किएको छ।
गत भदौमा घरेलु कामदारका रूपमा कुवेत पुगेकी यमुनाको केही महिनापछि स्वास्थ्य अवस्था बिग्रिएर मृत्यु भएको परिवारले जनाएको छ।
उनका दाइ ज्ञानेन्द्र सुनारका अनुसार यमुनाको गत फागुन २२ मा कुवेतबाटै निधन भएको खबर आएको थियो। त्यसपछि आवश्यक कागजी प्रक्रिया पूरा गरी उनको शव भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत घर ल्याइएको हो।
परिवारका अनुसार उनी गत मंसिरदेखि बिरामी थिइन् र पछि निमोनिया तथा मेनिन्जाइटिस जस्ता जटिल समस्याले ग्रसित भएकी थिइन्। स्वास्थ्य अवस्था गम्भीर भएपछि तत्काल नेपाल फर्काउन नसकिएको बताइएको छ।
यमुना तीन वर्षअघि घरेलु कामका लागि मेनपावरमार्फत कुवेत गएकी थिइन्। बिदा सकेर पुनः गत भदौमा काममा फर्किएकी उनी परिवारको आर्थिक अवस्था सुधार्ने लक्ष्यमा थिइन्।
उनका श्रीमान तीन वर्षदेखि मलेसियामा कार्यरत छन् भने १५ र ११ वर्षका दुई छोरी अहिले सुर्खेतमा मामा घरमा बस्दै आएका छन्।
परिवारले मृत्यु पश्चात प्राप्त हुने बिमा रकमका लागि आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।
पश्चिम एसियामा देखिएको असहज अवस्थाका कारण शव ल्याउन केही ढिलाइ भएको पनि जनाइएको छ।

