काठमाडौं,२२ चैत । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य सार्वजनिक गर्दै सबै प्रकारका अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँले वृद्धि गरेको छ।
संघका अनुसार आइतबारदेखि लागू हुने नयाँ मूल्यअनुसार ठूलो अण्डाको क्रेट मूल्य ४७५ रुपैयाँ पुगेको छ, जुन पहिले ४६० रुपैयाँ थियो।
त्यस्तै ठूलो अण्डा ४५० रुपैयाँ (पहिले ४३५ रुपैयाँ) र मिडियम अण्डा ४०० रुपैयाँ (पहिले ३८५ रुपैयाँ) पुगेको संघले जनाएको छ।
संघले २०८२ साल चैत २२ गतेदेखि लागू हुने गरी चितवनलाई आधार मानेर नयाँ मूल्य निर्धारण गरिएको जानकारी दिएको छ।
चितवनबाट अन्य जिल्लामा ढुवानी गर्दा ढुवानी खर्च, कार्टुन र क्रेट लागतसमेत जोड्दा थप १४५ रुपैयाँ लाग्ने संघको भनाइ छ।
संघका सचिव मदन पोखरेलका अनुसार ढुवानी तथा प्याकेजिङ सामग्रीको लागत वृद्धि र उत्पादन लागतको समायोजनका कारण मूल्य बढाइएको हो। साथै, गर्मी मौसममा उत्पादन घट्ने भएकाले पनि बजारमा मूल्य बढ्ने प्रवृत्ति देखिने उनले बताए।

