काठमाडौं,२२ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ।
आइतबारका लागि पेसी तोकिएको उक्त रिटमा सुनुवाइ नसकिएपछि अदालतले भोलिका लागि हेर्दाहेर्दैमा राख्ने निर्णय गरेको हो। यसअघि अदालतले कारण देखाऊ आदेश जारी गरेपछि विपक्षीबाट लिखित जवाफ पेस भइसकेको थियो।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले चैत १४ गते दुवै नेतालाई पक्राउ गरेको थियो।
उक्त घटनामा अनुसन्धानका क्रममा पक्राउ परेका ओली र लेखकका पक्षबाट क्रमशः राधिका शाक्य र यशोदा लेखकले चैत १५ गते बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको दमनका सम्बन्धमा आयोगले उनीहरूलाई जिम्मेवार ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।

