काठमाडौं,२२ चैत । नेपाल आयल निगमले इन्धन खपत घटाउन उपभोक्तालाई सजग रहन आग्रह गरेको छ।निगमका प्रवक्ता मनोज ठाकुरले सरकारले सातामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएसँगै अनावश्यक रूपमा सवारी प्रयोग नगर्न अपिल गरेका हुन्।
“बिदा पायौँ भनेर घुम्न ननिस्कनुस्, अत्यावश्यक कामबाहेक इन्धन प्रयोग नगर्नुहोस्,” उनले भने, “अहिले निगमलाई प्रतिलिटर करिब १२० रुपैयाँ घाटा भइरहेको छ।”
सरकारले पेट्रोलियम आपूर्तिमा देखिएको समस्या समाधानका लागि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो। साथै, डिजेल–पेट्रोलमा निर्भरता घटाउन विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने तयारी पनि गरिएको छ।
निगमका अनुसार देशभर दैनिक करिब २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको छ। नयाँ निर्णयले खपत कति घट्छ भन्ने यकिन गर्न केही समय लाग्ने बताइएको छ।
यसैबीच, अर्थशास्त्री इसान खरेलले यो निर्णय तत्कालका लागि आवश्यक भए पनि दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्। उनले इन्धनमा कर घटाउने, सार्वजनिक यातायात प्रवर्द्धन गर्ने र विद्युतीय सवारी विस्तार गर्न सुझाव दिएका छन्।
अर्का अर्थशास्त्री डा. सन्तोष अधिकारीले पनि हालको अभावको अवस्थामा निर्णय उचित भए पनि यसले दीर्घकालमा उत्पादकत्वमा असर पार्न सक्ने चेतावनी दिएका छन्।

