काठमाडौं,२३ चैत । गृहमन्त्री सुधन गुरुङ ले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न आग्रह गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सक्रिय रूपमा अघि बढ्न निर्देशन दिएका छन्। तीन दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग का प्रमुख आयुक्त प्रेमकुमार राई सँग भेट गर्दै मन्त्री गुरुङले अनुसन्धान र अभियोजन प्रक्रियालाई तीव्र बनाउन स्पष्ट सन्देश दिएका हुन्।
भेटका क्रममा उनले “कसैलाई पनि नछाड्नुस्, धमाधम फाइल खोल्नुस्” भन्दै ठूला भ्रष्टाचारका काण्डमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न आग्रह गरेका थिए। आवश्यक जनशक्ति र स्रोत उपलब्ध गराउन सरकार तयार रहेको प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
यसअघि प्रमुख आयुक्त राईले आयोगले निष्पक्ष रूपमा अनुसन्धान गर्दै पूर्वप्रधानमन्त्री र उच्च पदस्थ कर्मचारीसमेत मुछिएका प्रकरणमा कारबाही अगाडि बढाएको जानकारी गराएका थिए।
गृहमन्त्रीको यो पहलसँगै राजनीतिक दबाबका कारण रोकिएका ठूला भ्रष्टाचारका मुद्दाहरूमा पुनः सक्रियता बढ्ने संकेत देखिएको स्रोतले जनाएको छ।

