बारा,२५ चैत । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ले सार्वजनिक तथा गोचर जग्गा अतिक्रमण नियन्त्रण गर्न कडा कदम अघि सारेको छ। वडा नं. ७ अन्तर्गत पर्ने क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन उपमहानगरपालिकाले औपचारिक सूचना जारी गरेको हो।
सूचनामा उल्लेख भएअनुसार पथलैया–वीरगञ्ज ६ लेन सडक आसपास, साविक जीतपुर भवानीपुर गाविस वडा नं. ३ भित्रका विभिन्न कित्तामा सार्वजनिक र गोचर जग्गा मिचेर बनाइएका संरचना तत्काल हटाउनुपर्ने छ। उपमहानगरपालिकाले सम्बन्धित सबैलाई आगामी २०८३ साल बैशाख २ गतेसम्म स्वेच्छाले संरचना हटाउन आग्रह गरेको छ।
तोकिएको समयसीमा भित्र अटेर गरेमा बैशाख ३ गते बिहान ७ बजेदेखि उपमहानगरपालिका आफैंले डोजर प्रयोग गरी संरचना हटाउने चेतावनी दिइएको छ। यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित अतिक्रमणकारीबाटै असुल गरिने जनाइएको छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को प्रावधानअनुसार हुनेछ।
प्रशासनिक अधिकृत रामेश्वर बनजाराद्वारा हस्ताक्षरित उक्त सूचनामा सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित उपयोग सुनिश्चित गर्न यस्तो कदम चालिएको स्पष्ट पारिएको छ। उपमहानगरपालिकाले यस अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

