बीरगन्ज,२५ चैत । बाराको विभिन्न स्थानमा अनधिकृत रूपमा विद्युत चोरी गरी सिँचाइका लागि प्रयोग गरिएका सामग्री नियन्त्रणमा लिइएका छन्। नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र र सुरक्षा निकायको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा सात थान विद्युत मोटर बरामद गरिएको हो।
प्राधिकरणका अनुसार नियन्त्रणमा लिइएका सामग्रीमा १ एच.पी. का ५ थान र २ एच.पी. का २ थान सिँचाइ मोटर रहेका छन्। साथै १ पङ्खा, १ स्पिकर र १ फर्निचर मेसिन पनि बरामद गरिएको छ।
कलैया वितरण केन्द्रका सुपरभाइजर दीपेन्द्र कुमार साहका अनुसार विद्युत चोरी नियन्त्रण अभियान अन्तर्गत उक्त कारबाही गरिएको हो। उनका अनुसार मोटरका धनीहरू सम्पर्कमा आएर आवश्यक जरिवाना तिरेपछि मात्र फिर्ता दिइनेछ, अन्यथा ती सामग्री जफत गरिनेछ।
प्राधिकरणले विद्युत चुहावट र अनधिकृत प्रयोग नियन्त्रणका लागि अभियानलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।

