काठमाडौँ,२६ चैत । काठमाडौं महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष भुवन लामा माथि नक्कली नागरिकता दिलाएको आरोप लागेको छ। उक्त विषयमा अनुसन्धानको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा उजुरी दर्ता गरिएको छ।
उजुरीकर्ताले लामाले आफ्नो पदीय हैसियत दुरुपयोग गर्दै करिब ५ सय तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको दाबी गरेका छन्। उजुरीमा केही व्यक्तिहरूको नाम र नागरिकता विवरणसमेत उल्लेख गरिएको जनाइएको छ।
यसका साथै लामाले बौद्ध तामाङ कल्याण गुठीमा रहँदा तिब्बती धर्मगुरुहरूसँग मिलेर गतिविधि सञ्चालन गरेको र नेपालको ‘एक चीन नीति’ विपरीत कार्य गरेको आरोपसमेत लगाइएको छ।
नेपालको कानुनी प्रावधानअनुसार नागरिकता वितरण गर्ने अधिकार जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयलाई हुने भए पनि वडाबाट सिफारिस आवश्यक पर्ने व्यवस्था छ। उजुरीकर्ताले उक्त प्रक्रियामा अनियमितता भएको आशंका गर्दै वितरण गरिएका नागरिकताको पुनः जाँच गर्न माग गरेका छन्।
यस विषयमा अख्तियारले अनुसन्धान प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

