काठमाडौं,२६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपसभामुख पदमा उम्मेदवारी दिने तयारी थालेको छ। पार्टी स्रोतका अनुसार सांसद सरस्वती लामा लाई उम्मेदवार बनाउने तयारी भइरहेको छ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने प्रावधान रहेको छ। हाल सभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भएकाले उपसभामुख अन्य दलबाट चयन हुनुपर्ने अवस्था छ।
यसैबीच रास्वपाले अन्य ठूला दललाई समर्थन नगर्ने संकेत देखिएपछि राप्रपाका नेताहरूले रास्वपासँग निरन्तर संवाद गरिरहेका छन्। राप्रपा स्रोतका अनुसार रास्वपाले समर्थन गर्ने सकारात्मक संकेत दिएको छ।
यसअघि रास्वपा सभापति रवि लामिछाने र संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाही बीच पनि यस विषयमा छलफल भएको बताइएको छ।
यता पहिलोपटक संसदमा प्रवेश गरेको श्रमसंस्कृति पार्टीले पनि उपसभामुखका लागि उम्मेदवारी दिने तयारी गरेको छ। तर वैचारिक मतभेदका कारण रास्वपाले उक्त पार्टीभन्दा राप्रपालाई समर्थन गर्ने सम्भावना बढी देखिएको छ।

