कारागार शाखाको जग्गामा अतिक्रमण हटाउन जिल्ला प्रशासन बाराको सूचना

spot_img

बीरगन्ज,२६ चैत । जिल्ला प्रशासन कार्यालय बारा ले कारागार शाखाको नाममा दर्ता रहेको सरकारी जग्गामा भएको अतिक्रमण हटाउन सूचना जारी गरेको छ। कार्यालयले अतिक्रमित संरचना एक महिनाभित्र हटाउन निर्देशन दिँदै कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र द्वारा हस्ताक्षरित सूचनामा कलैया उपमहानगरपालिका वडा नं. ४ (साविक कलैया गा.वि.स. वडा नं. ५) स्थित कारागार शाखा कार्यालयको नाममा दर्ता रहेको कित्ता नं. १०३, १०२ र ४४४ का सरकारी जग्गामा अतिक्रमण भएको उल्लेख छ।

स्थलगत निरीक्षण तथा नापजाँचका क्रममा उक्त जग्गामा विभिन्न व्यक्तिहरूले लामो समयदेखि बिना अनुमति स्थायी तथा अस्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएको पाइएको प्रशासनले जनाएको छ। कुनै पनि सरकारी निकायसँग सम्झौता नगरी गरिएको यस्तो बसोबास तथा निर्माण कार्य गैरकानुनी रहेको सूचनामा स्पष्ट पारिएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(६)(क) अनुसार सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र सबै संरचना हटाउन निर्देशन दिइएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाइएमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय