बीरगन्ज,२६ चैत ।बीरगन्जमा यस वर्ष पनि भव्य रूपमा श्री जगन्नाथ रथ यात्रा आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बीरगन्जले तेस्रो पटक यो धार्मिक कार्यक्रम गर्न लागेको हो।
इस्कोनका अनुसार, चैत २८ गते शनिबार दिउँसो १ बजेदेखि गहवा माई मन्दिर अगाडिको पार्कबाट रथ यात्रा सुरु हुनेछ। यात्रा आदर्शनगर, मकालु होटल चोक, पूजन होटल चोक, कैलाश होटल चोक, घडीअर्वा पोखरी र गीता मन्दिर रोड हुँदै पुनः माइस्थानस्थित मन्दिर परिसरमै पुगेर समापन हुनेछ।
वैदिक परम्पराअनुसार मनाइने यो रथ यात्रा भगवान् जगन्नाथ, बलदेव र सुभद्राको आराधनासँग जोडिएको पवित्र पर्व हो। आयोजकका अनुसार समाजमा भक्ति, एकता र समानताको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम गरिन लागेको हो।
यस वर्षको रथ यात्रामा ४ देखि ६ हजारसम्म श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ।

