काठमाडौं,२६ चैत । विद्युतीय चुरोट (भेप) प्रयोग गरी सुन तस्करी गरिएको बहुचर्चित प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले महरासहित नेपाल सरकारका सहसचिव अरुण पोखरेल र महराका छोरा राहुललाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। आयोगले करिब ७ करोड रुपैयाँ बराबरको बिगो दाबी गरेको जनाएको छ।
अनुसन्धान अनुसार, चिनियाँ तस्कर समूहसँगको मिलेमतोमा भेपको आवरणमा सुनको अवैध ओसारपसार गराइएको आरोप लगाइएको छ। पुस २०७९ मा भित्र्याइएको उक्त सुन ‘पास’ गराउन महरासहितका व्यक्तिहरूको संलग्नता रहेको अभियोगपत्रमा उल्लेख गरिएको छ।
यस प्रकरणले उच्च तहका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूको संलग्नताबारे गम्भीर प्रश्न उठाएको छ भने आगामी न्यायिक प्रक्रियाले यसको वास्तविकता स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

